काठमाण्डौ । यो वर्ष नेपालको सेयर बजारमा प्राथमिक बजार गुल्जार रह्यो। कोरोना संकटबीच विभिन्न कम्पनीहरुले आईपीओ निष्कासन गर्दा अन्य क्षेत्रमा लगानी गर्न नपाएकाहरु प्राथमिक बजारमै ओइरिए। जसका कारण सेयर बजारले छोटो समयमै नयाँ उचाइ चुम्न पनि सफल भयो।

यो वर्ष असारको दोस्रो सातादेखि चैतको तेस्रो सातासम्म विभिन्न १८ वटा कम्पनीका आईपीओ निष्कासन भए। यी आईपीओबाट साढे १३ अर्ब रुपैयाँ बढीको लगानी जुटेको छ। यो वर्ष सबैभन्दा पहिले एनआईसी एसिया लघुवित्तको असार १० गते आईपीओ निष्कासन भएको थियो। यो वर्षको चैत २० गते भने रुरु जलविद्युतले आईपीओ जारी गरेको थियो।

यो वर्ष ६ वटा इन्स्योरेन्स, ५ वटा जलविद्युत, ४ वटा लघुवित्तसहित १८ वटा कम्पनीले आईपीओ निष्कासन गरेका छन्। यही वर्ष नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले हालसम्मकै ठूलो आईपीओ जारी गरेको छ। 

यो वर्ष निर्जीवन बीमा समूहका अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जरल इन्स्योरेन्स तथा जीवन बीमा समूहका रिलायन्स लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ जारी गरेका छन्। 

अजोड, जनरल र सानिमा जनरल सबैले समान ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेका छन्। रिलायन्स लाइफ, प्रभु लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले भने क्रमशः ६३ करोड, ६० करोड र ६६ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेका छन्। 

जलविद्युततर्फ भने माउन्टेन इनर्जीले १९ करोड ६८ लाख रुपैयाँ, युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले ६ करोड ३० लाख रुपैयाँ, ग्रीन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख रुपैयाँ, सिंगटी हाइड्रो इनर्जी २९ करोड रुपैयाँ र रुरु जलविद्युत् परियोजनाले ४ करोड ८९ लाख रुपैयाँ आईपीओ निष्कासन गरेका छन्। 

यही वर्ष चारवटा लघुवित्त एनआईसी एसिया लघुवित्त, साधना लघुवित्त, समाज लघुवित्त र महिला लघुवित्तले आईपीओ निष्कासन गरेका छन्।

एनआईसी एसिया लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँ, साधना लघुवित्तले ७ करोड ७ लाख रुपैयाँ, समाज लघुवित्तले ८६ लाख रुपैयाँ र महिला लघुवित्तले ४ करोड रुपैयाँबराबरको आईपीओ जारी गरेका छन्।

त्यस्तै यही वर्ष एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टले ३३ करोड ९८ लाख रुपैयाँ र चन्द्रागिरी हिल्सले १५ करोड ३४ लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणलाई बिक्री गरेका छन्। यी दुवैले क्रमशः गत साउन १६ गते र गत पुस २४ गते आईपीओ निष्कासन गरेका थिए।

यसबीच नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले हालसम्मकै ठूलो आईपीओ गत माघ २ गतेबाट निष्कासन गर्यो। यो बैंकले ८ अर्ब रुपैयाँबराबरको आईपीओ बिक्री गरेको छ।

आईपीओको लहरसँगै डिम्याट खाता खोल्नेको संख्या पनि अचाक्ली बढेको छ। सीडीएससीका अनुसार हालसम्म डिम्याट खाताको संख्या ३४ लाख २ हजार २०३ पुगेको छ।