काठमाण्डौ । पैसा देखेपछि महादेवका पनि तीन नेत्र बल्छन् रे । नेपालजस्तो भ्रष्टाचारले व्याप्त मुलुकमा पदमा पुग्नेले पैसा ताक्दैन भनेर कसैले भन्छ भने त्यो एउटा गफ मात्र हुनेछ, सर्वसाधारणले बुझेको कुरा हो यो । अझ गणतान्त्रिक संविधान जारी भएपछि बनेको केपी ओली नेतृत्वको सरकारका अधिकांश मन्त्री भ्रष्टाचारमा चुर्लुम्म डूबेका छन् । प्रधानमन्त्री केपी ओली आफैँ इन्धनका कालोबजारीसँग मिलेर कमिसन पड्काउने गरेको चर्चा बाहिर आइरहेको बेला एमाओवादी कोटाबाट सिंचाई मन्त्री भएका उमेश यादवले हालै कर्मचारी सरुवा गर्दा ४२ लाख रुपैयाँ कुम्ल्याएका छन् । 
 

सायद प्रधानमन्त्रीले समेत कालोबजारीसँग मिलेर पैसा कमाइरहेका कुरा बुझेर होला, संचाईमन्त्री यादवले हाकाहाकी आफ्नै क्वार्टरमा कर्मचारीलाई बोलाएर रकमको डिल गरे र सरुवा गरिएको आकर्षक स्थलको आधारमा रेट तोक्दै आफैँले रकम बुझे । मन्त्री क्वार्टरमै कर्मचारी सरुवामा यस्तो घूसखोरी चल्दा भ्रष्टाचार निर्मूल गर्ने गुलिया नारा बोकेर काम गरिरहेका कुनै पनि निकायले ध्यान दिएनन्, बुझ पचाए । 
 

स्रोतका अनुसार बिहीबार यादवको मन्त्री क्वार्टरमा हुलका हुल कर्मचारी छिरेका थिए । ती कर्मचारीलाई गेटबाटै रिसिभ गर्न विशेष मान्छे परिचालन गरिएको थियो । 
 

मन्त्रीकै मान्छेले भित्र प्रवेश गराएपछि सुरक्षाकर्मीले त्यसको सोधीखोजी गरेनन् र गर्ने कुरा पनि भएन । तर, त्यसरी हुलका हुल कर्मचारी मन्त्री क्वार्टरभित्र प्रवेश गर्नुको मुख्य उद्देश्य अर्कै थियो । उनको उद्देश्य भनेको कर्मचारीबाट रकम असूल्नु थियो । 
 

उनले त्यस्तो हर्कत गरेको एकहप्ता पनि बितेको छैन । उनले मन्त्री क्वार्टरबाटै बिहीबार विभिन्न जिल्लाका रिक्त पदमा कर्मचारीलाई पदस्थापना गर्न कर्मचारीलाई निम्ता गरेका थिए । उनले गोप्यशैलीमा बोलाएको निम्तामा पदस्थापन हुन चाहने कर्मचारी थिए । उनले ती कर्मचारीसँग खुलेर आफैँ रकमबारे डिल गरेका थिए । मन्त्री क्वार्टरको सो निम्तामा हालै बढुवा भएका मन्त्रालयका मनोज थापा, प्रकाश अधिकारी, धु्रव पौडेल, श्रीराम जोशी, यमनारायण, मुलसमान खाँलगायत उपस्थित थिए । 
 

उनीहरुले क्वार्टरमा रक्सी चुस्की लिंदै रकमको डिल गरेका थिए । सोही डिलमा मन्त्री यादवले पोखरा जिल्ला सिँचाई प्रमुखका रुपमा पदस्थापना गरिएका श्रीराम जोशीबाट १५ लाख रुपैयाँ हात पारेका छन् । मन्त्री यादवले कमाई हुने स्थानमा जान चाहनेका लागि सोही बमोजिम डिल गरेका थिए । बर्दिया जिल्ला सिँचाई कार्यालय प्रमुखका रुपमा पदस्थापना भएका मनोज थापाले २ लाख ५० हजार रुपैयाँ मन्त्रीलाई बुझाएका छन् । 
 

गुल्मी जिल्ला प्रमुखका रुपमा पदस्थापना भएका धुव पौडेलबाट ३ लाख, सिन्धुपाल्चोक जिल्ला सिँचाई प्रमुखका रुपमा पदस्थापना भएका प्रकाश अधिकारीबाट ५ लाख ५० हजार, दाङ जिल्ला पुगेका शाह थरका एक कर्मचारीबाट १० लाख र बागलुङ जिल्ला सिँचाई प्रमुखका रुपमा पदस्थापना भएका यम नारायणबाट ३ लाख रकम लिएका मन्त्री निकट स्रोतले उल्लेख गरेको छ ।
 

एमाओवादीले सरकारमा गएर काम गर्न नसकेका मन्त्रीलाई फिर्ता बोलाउने भने पनि हालसम्म कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्नसकेको छैन । मधेश र मधेशी जनताको नाममा राजनीति गरेर कमाउधन्दामा लागेका यादवलाई माओवादीले मन्त्री बनेको दुई महिनामै फिर्ता बोलाउन खोजेको थियो, तर यादवले प्रचण्डसँग रोइकराई गरेर पद थमौति गरेका थिए । सिँचाईमन्त्री यादवले विभिन्न योजनाबाट घुस लिएको आरोप खेप्दै आएका छन्,  बिहीबार मन्त्री क्वार्टरबाटै ४२ लाख कुम्ल्याएको खबर प्रचण्डको कानसम्म पुगिसकेको स्रोतको भनाई छ ।