काठमाण्डौ। सिक्लेस हाइड्रोपावर लिमिटेडले रु. २० करोड आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पुँजी ८५ करोड रुपैयाँको २३.५३ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यसैगरी कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको छ। यस सम्बन्धमा सिक्लेस हाइड्रोपावर र बीओके क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सिक्लेस हाइड्रोपावरका कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ र बीओके क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन्। 

यसका साथै सिक्लेस हाइड्रोपावरको सेयर रजिस्ट्रारसम्बनधी सम्पूर्ण कार्यसमेत बीओके क्यापिटलले नै गर्ने भएको छ। 

सिक्लेस हाइड्रोपावर कास्कीको मादी गाउँपालिका वडा नं. १ मा अवस्थित १३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनी हो।

यस कम्पनीले गत २०७४ साल चैत १९ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आइसकेको छ। यस कम्पनीले गत आर्थिक वर्षमा नगद लाभांश समेत वितरण गरिसकेको छ।