काठमाण्डौ । रिभर फल्स् पावर लिमीटेडद्वारा प्रवद्र्धित संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिकास्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडको अगुवाईमा बैंकहरुले लगानी गर्ने भएका छन् । 

सिटिजन्स बैंकको कन्सोर्टियम लिड रहने यो आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकको समेत ऋण लगानी हुनेछ । 

परियोजनाको अनुमानित लागत करीब रु. १ अर्ब ८९ करोड ४० लाख रहेकोमा बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा रु. १ अर्ब ३२ करोड बराबरको ऋण लगानी गर्ने भएका हुन् । यसमध्ये, सिटिजन्स बैंकबाट रु. ६५ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु. ४२ करोड र प्रभु बैंकबाट रु. २५ करोड लगानी हुनेछ भने ३० प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइनेछ ।

कम्पनीले यस आयोजना २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वरस्थित सबस्टेशनमा जोडिनेछ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र बर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तीय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धि रहेको बताए । 

कम्पनीको तर्फबाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको जानकारी गराए । उनले परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास समेत व्यक्त गरेका थिए।