काठमाण्डौ । बैंकहरु मौद्रिक नीतिपछि खर्च कटौतिमा केन्द्रीत हुनुपर्ने अवस्था सिर्जना भएको छ । राष्ट्रबैंकले खर्च कटौतिको उत्तम विकल्पको रुपमा ठूला बैंकबीच मर्जरको नीति समेत लिएको छ । यहीबेला कतिपय बैंकहरु भने ठूलो साइजको बन्ने लक्ष्यका साथ राम्रो वित्तीय अवस्था भएका, कर्मचारीमा समस्या नभएका, एसेट क्वालिटी उत्तम रहेका पार्टनरको खोजीमा छन् । 

ठूलो साइजको बन्ने उद्देश्य बोकेका बैंकहरुले अर्गानिक ग्रोथको बाटोमा हिँडिरहेका संस्थाहरुमाथि आँखा लगाउन थालेका छन् । यही क्रममा पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकले सिटिजन्स बैंक इन्टरनेशनलमाथि आँखा लगाउन थालेको छ । 

इन्भेष्टमेन्ट बैंकका एक संचालकका अनुसार औसत ग्रोथमा हिँडिरहेको सिटिजन्स बैंक तडकभडक नगर्ने, बैंकिङ इथिक्सका आधारमा चल्ने, कर्मचारीमा ठूलो समस्या नभएको, स्थापना कालदेखिका डेडिकेटेड कर्मचारीको बाहुल्यता रहेको र एसेट क्वालिटी समेत राम्रो रहेका कारण पछिल्लो समय मर्जर पार्टनरको विकल्पको रुपमा आफूहरुले सिटिजन्सलाई हेरिरहेको बताए । 

'मेरो जानकारीमा हाम्रो चेयरमेन लेभलमा एकचरणको कुराकानी पनि भइसकेको छ ।' ती संचालकले बिजशालासँग भने-'औसत स्तरको सिटिजन्स बैंकलाई मर्ज गर्न सकियो भने एकखालको सिनर्जी ल्याउन सकिन्छ भन्ने हाम्रो ठम्याई हो ।'

ती संचालकका अनुसार यो विषय प्रारम्भिक अवस्थामा मात्रै रहेको छ । 'धेरै छलफल भएको इस्यू चाहि होइन यो, तर हामीले हिमालयन बैंकसँग यदि कुरा मिलेन भने अर्को विकल्पको रुपमा सिटिजन्सलाई लिनुपर्छ भन्ने लागिरहेको छ ।' उनले भने-'हाम्रो पहिलो प्राथमिकता हिमालयन बैंकसँगै मर्जरमा जाने हो । यसमा कुनै कारणले सफलता पाइएन भने चाहि सिटिजन्स अर्को विकल्प हुनसक्छ ।' 

नेपाल इन्भेष्टमेन्ट बैंकस्थित उच्च स्रोतकाअनुसार राम्रो वाणिज्य बैंकमध्येमा पर्ने सिटिजन्स बैंकको सिनियर लेभलमा धेरै कर्मचारी छैनन्, जसका कारण मर्जरमा जाँदा उच्चपदस्थ कर्मचारी व्यवस्थापनमा कुनै समस्या पर्दैन । 'सिटिजन्स बैंकबाट प्रवाह भएका लोनहरु तुलनात्मक रुपमा अन्य बैंकको तुलनामा बढी क्वालिटीका छन् । डिपोजिटको कम्पोजिसन राम्रो छ। सिटिजन्स बैंकको बाटो निकै शालीन छ । धेरै आक्रामक छैन ।' ती संचालकले भने-'यिनै विषयलाई हामीले हाम्रो कम्फर्टको रुपमा हेरेका छौ ।' 

सिटिजन्स बैंकका एक संचालकले भने नेपाल इन्भेष्टमेन्ट बैंकबाट औपचारिक रुपमा मर्जरको कुनै प्रस्ताव नआएको प्रष्ट पारे । 'तर, यदि सकारात्मक कुरा आयो भने हामी एनआइबीसँग मर्जर गर्न तयार छौ ।' ती संचालकले भने-'हामीलाई १ः१ को सेयर अनुपातको प्रस्ताव आयो भने दुईचार दिनमै सहमति हुनसक्छ ।' 

यदि एनआइबीले सिटिजन्सलाई मर्ज गर्ने अवस्था भयो भने मर्जपछि बन्ने बैंकमा कस्तो सिनर्जी आउला ? (अर्को रिपोर्टका लागि प्रतिक्षा गर्नुहोस्।)