काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कारोबार समयमा मूल्यमा प्रभाव पार्ने गरी सूचना जानकारीमा ल्याएको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग ३ कार्यदिनभित्र कारण स्पष्ट पार्न अल्टिमेटम दिएको छ। 

बैंक गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांशको सूचना कोरोबार समयमा जानकारी गराएर मूल्यमा प्रभाव पार्न खोजेको आरोप लगाउँदै नेप्सेले ७२ घन्टाभित्र चित्तबुझ्दो जबाफ पठाउन अल्टिमेटम पत्र काटेको हो। 

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२(१)(घ) मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाको वेबसाइटमार्फत समेत सार्वजनिक गर्नुपर्ने भन्ने व्यवस्था रहेको छ। सोही विनियमावलीको विनियम २२(१)(ङ) मा नगद लाभांश, बोनस सेयर, हकप्रद सेयर वा थप सेयर निष्कासनसम्बन्धी निर्णय भएमा त्यस्तो निर्णय हुनेबित्तिकै सञ्चालक समितिको बैठक बसेको समयसमेत उल्लेख गरी उपलब्ध गराउनुपर्ने भन्ने व्यवस्था रहेको छ। तर सिटिजन्स बैंकले कारोबार समयमा मूल्यमा प्रभाव पार्ने सूचना तथा जानकारी सिर्जना गरी जानकारीमा ल्याएको र उक्त सूचना तथा जानकारीमा सञ्चालक समितिको बैठक बसेको समयसमेत उल्लेख नेप्सेमा नगरी पठाएको नेप्सले जनाएको छ। 

बैंक सञ्चालक समितिको गत सोमबार बसेको बैठकले चुक्तापुँजीको ७.७० प्रतिशत बोनस सेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।