काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको परियोजनामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

यो सम्झौतापछि रिटर्नी माइग्रेन्टको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिने बैंकले जनाएको छ। 

विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्य राखेर यो सम्झौता गरिएको बैंकको भनाइ छ। मेहनत गर्न सक्ने उमेर, जोशजागर, विदेशबाट आर्जित सीप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहल कदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ।

विदेशमा रहँदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावसायिक ज्ञानको कमी, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचित नहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताका बारेमा जानकारी नहुनुले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई मत्थर पार्न यस सम्झौताले सहज पार्नेछ। राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशैभरि छरिएका १०९ वटा शाखाहरुबाट विभिन्न शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ।