काठमाण्डौ । आफ्ना बालबच्चामा भएको क्षमता अभिभावकले नबुझ्ने समस्या नेपालीहरुको घर–घरको समस्या हो । एकातिर अभिभावकले आफूभित्रको क्षमता नबुझ्दा कतिपय क्षमतावान सन्तानहरु कला भएर पनि चूपचाप बस्न बाध्य छन् भने ढिलै भए पनि सन्तानको क्षमता बुझ्ने अभिभावकका अगाडि त्यसलाई फूलाउने र फलाउने विकल्पको अभाव हुन्छ । कतिपयमा क्षमता र नवीन अवधारणा भएर पनि आर्थिक अवस्था कमजोर हुँदा प्रतिभाहरु फूल्न नपाई निमोठिन्छन् अनि सम्झौताको जिन्दगी जिउन बाध्य हुन्छन् सन्तान र तिनका अभिभावक । 

उसो भए यी दुवै खालका समस्याको कुनै समाधान छैन त ? धेरैको मनमा आउनसक्ने यस्तै प्रश्नको उत्तर बोकेको मनै छुने एउटा भिडियो सन्देश तयार भएको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले तयार गरेको ३ मिनेट ८ सेकेण्ड लामो भिडियो अहिले भाइरल भइरहेको छ । यो भिडियोमा सन्तानको क्षमता चिन्न नसक्ने अभिभावकको समस्या र चिनेर पनि त्यो क्षमतालाई व्यवसायिक रुप दिनका लागि आवश्यक लगानीको जोहो गर्ने उपायको विषयमा निकै राम्रो सन्देश समेटिएको छ । 

भिडियोको कथाअनुसार नेहा नामकी एक युवती सानैदेखि खानमा सौखिन हुन्छिन् । नयाँ–नयाँ परिकार खान उनलाई जति रमाइलो लाग्छ, उति नै बनाउन पनि । घरैबाट बिस्तारै विभिन्न रेसिपीहरु बनाउँदै उनले यूट्यूव र इन्स्टाग्राममा पोस्ट गर्ने गर्छिन् । उनको खाइरहने बानी, खानाका विभिन्न परिकार तयार गर्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने बानी उनकी आमालाई खासै मन पर्दैन । उनकी आमाले ‘सामाजिक सञ्जालहरुमा त्यस्ता भिडियो राखेर के नै उपलब्धि हुन्छ र ?’ भन्ने प्रश्न समेत भिडियोमा गरेकी देख्न पाइन्छ । तर, नेहा आफ्नो प्यासनबाट पछि हट्दिनन् । उनले आफ्नो लक्ष्यलाई अर्जुनदृष्टि बनाई नयाँ नयाँ रेसिपी तयार गर्दै भिडियो अपलोडलाई जारी राख्छिन् । यो क्रममा उनको युट्यूव च्यानललाई धेरैले मन पराउँछन् । एक दिन उनकी आमा अफिसको क्यान्टिनमा खाजा खाँदै गर्दा अरुको मुखबाट नेहाको कामको प्रशंसा सुन्ने मौका पाउँछिन् । त्यसपछि मात्र आमाले आफ्नी छोरीको प्रतिभा थाहा पाउँछिन् र छोरीले गरिरहेको काम पनि सही रहेछ भन्ने लाग्छ । 

छोरीको प्यासनलाई प्रोफेसन बनाउने गरी उनले सिटिजन्स बैंकबाट लोन लिइदिन्छिन् र छोरीलाई सरप्राइज गिफ्टको रुपमा ‘नेहा किचन’ नामको रेष्टुरेन्ट नै खोलिदिन्छिन् । 

बैंकले भिडियोको अन्तमा सन्देश दिंदै भनेको छ–‘सपनाको कुनै आकार हुँदैन, खुशीको कुनै सीमा हुँदैन । तपाई आँट मात्र गर्नुहोस्, सहयोग गर्नलाई हामी छौं ।’