काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एपबीच सिटिजन्स बैंकको कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले पेलेस एससँग आवद्ध ४५० भन्दा बढी आउटलेटमा विशेष छुट पाउनेछन्। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटीएम र १०७ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। सिटिजन्स बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकता डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ। यसलाई मूर्तरुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ। यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुंजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ।