काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औँ शाखा रौतहटको गरुडामा सञ्चालनमा ल्याएको छ। 

आज बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ कारोवारको सुरुआत गरिएको छ। गरुडासँगै सबै शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यावसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा एटीएम र १०९ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। सिटिजन्स बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न ‘स्क्यान एन्ड विथड्र’ सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ। यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको  अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ।