काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ।

बैंकको प्रवक्तामा कार्यरत उमंग शर्माले राजीनामा दिएपछि रिक्त स्थानमा अन्य अनुभवी बैंकरलाई ल्याइएको हो । 

करिब २२ वर्ष देखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्रलाल श्रेष्ठले स्थापनाकाल देखिनै बैंकसंग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेका बैंकले जनाएको छ ।

भारतको पुणेस्थित सिम्बायोसिस इन्स्टीट्यूट अफ बिजनेस म्यानेजमेन्बाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा संचालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुली जस्ता क्षेत्रको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रुपमा समेत कार्यरत छन् ।

प्रवक्तामा नियुक्त नारायणराज अधिकारीसँग करिब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल छन् । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेशन विभाग समेतको जिम्मेवारी वहन गर्दै आएका छन् ।

“भित्र सिस्टम र बाहिर इमेज”को नारालाई आत्मसाथ गर्दै कार्यपथमा लम्किरहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उनीहरुको लामो अनुभवले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा ए.टि.एम. र १०९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।