काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र संचालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । 

बैंकको २०७८ साल जेठ ४ गते मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव भएका अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । 

सुदेश खालिङले राजीनामा दिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । 

बैंकमा सहायक प्रबन्धक बाट बैंकिंग पेशा सुरु गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्य सम्पादन गर्नुका साथै नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६८ वटा शाखा, १११ वटा ए.टि.एम. र १०९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।