काठमाण्डौ । सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकीकृत कारोबार यही असार २६ गतेबाट सुरु गर्ने भएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकै नामबाट एकीकृत कारोबारको सुरुआत गरिने भएको छ। सिर्जना र सिटिजन्स बैंकको गत जेठ २७ गतेसम्म विशेष साधारणसभाले प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो। 

सिटिजन्स बैंकले सिर्जनालाई १ः०.९५ सेयर स्वाप अनुपातमा प्राप्ति गरेको हो। जसअनुसार सिर्जनाको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकले ९५ कित्ता सेयर दिनेछ।

यी दुवैबीचको प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते र कम्पनी रजिस्ट्रारको कार्यालयले हिजो असार १७ गते अन्तिम स्वीकृति दिएको थियो।

एकीकृत कारोबार सञ्चालन गर्ने प्रयोजनका लागि दुवै संस्थाको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेसन गर्नुपर्ने भएकोले असार २५ गते साँझ ५ बजेदेखि असार २६ गतेसम्म दुवै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण बैंक सेवा बन्द रहने बताइएको छ। यसबाट ग्राहकमा पर्न जाने असुविधानप्रति दुवै संस्थाले क्षमायाचना गरेको छ।