काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहक र कर्मचारीले तनहुँको बन्दीपुरस्थित बन्दीपुर माउन्टेन रिसोर्टमा विशेष छुट पाउने भएका छन्।

छुट उपलब्ध गराउने विषयमा सिटिजन्स बैंक र बन्दीपुर माउन्टेन रिसोर्टबीच समझदारी भएको हो। उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहक तथा कर्मचारीले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ। मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दति खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ११७ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिब १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 

सिटिजन्स बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलका माध्यमबाट प्रदान गरिरहेको छ। यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–इन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एन्ड विथड्र सेवा, मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ। यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ।