काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनसहित तीन कम्पनीले आज कात्तिक ४ गते आफ्नो वार्षिक साधारणसभा (एजीएम) आयोजना गर्दैछन्। सिटिजन्स बैंक, रुरु जलविद्युत परियोजना, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आज एजीएम गर्ने भएका हुन्। 

सिटिजन्स बैंकका १६ औँ वार्षिक साधारणसभा काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव ९ प्रतिशत नगद लाभांश (लाभांश करसहित) अनुमोदन गर्नेछ। 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्र्रस्ताव पनि अनुमोदन गर्नेछ। 

साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबि पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको पुँजी संरचना ५१.०७ः४८.९३ (संस्थापक सेयरधनीहरुले धारण गरेको जम्मा सेयरः साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले गत असोज २८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको अर्थ असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

यसैगरी रुरु जलविद्युतले आज १७ औँ वार्षिक साधारणसभा डोकेको छ। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा अपराह्न १ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्। 

सभाले लाभांश पारित गर्नुका साथै बोनस सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्तापुँजीलाई आवश्यकताअनुसार वृद्धि गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन पनि पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले गत असोज २७ गते बु्क क्लोज गरिसकेको छ। यसर्थ आउँदो असोज २६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

त्यस्तै गुराँस लाइफ इन्स्योरेन्सको १२ औँ वार्षिक साधारणसभा आज काठमाण्डौको तीनकुनेस्थित कम्पनीको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७६–७७ का लागि प्रस्तावित कुल ७.८३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन्। 

सभाले युनियन लाइफ र प्राइम लाइफसँगको मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ ।  आर्थिक वर्ष  २०७६–७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक सभा प्रयोजनका लागि कम्पनीले गत असोज २६ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत असोज २५ गतेसम्म कायम रहने सेयरधनीमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।