काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रमा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुआत आज लक्ष्मी पूजाको दिनबाट गरेको छ। 

यो नवीनतम सेवामार्फत अब ग्राहकले कुनै भौतिक फारम बिनानै सहज रुपमा सिटिजन्स बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरका आधारमा नगद रकम जम्मा गर्न सक्नेछन्। यस सेवाअन्तर्गत ग्राहकले क्यास डिपोजिट मेसिनबाट रु. १ हजार र रु. ५०० दरका नोटहरुमात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ। 

यस सेवाबाट ग्राहकले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुुने भन्ने विश्वास बैंकले लिएको छ। बैंकले यो सेवा हालका लागि आफ्नो काठमाण्डौको नारायणहिटीपथस्थित दरबारमार्ग शाखामा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखामा समेत विस्तार गर्ने योजना बनाइरहेको छ। 

कार्यक्रमको आरम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आधुनिक बैंकिङको प्रमुख अंगका रुपमा रहेको डिजिटल बैंकिङलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगााडि बढाएको र सशक्त ढंगले ग्राहकमैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ र विश्वास योग्य बनाइएको बताए। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट  करिब १४ लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।