काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलको वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई ३.६ प्रतिशत बोनस सेयर र १.६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । 

सोमबार काठमाण्डौको लैनचौर ब्यांक्वेटमा सम्पन्न १२ औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट आफ्ना  शेयरधनीहरुलाई रु २९,१४,४५,७७३(करीब३.६ प्रतिशत) बोनस शेयर तथा रु १३,१३,५५६,१४३ (करीब १.६ प्रतिशत) नगद लाभांश दिने संचालक समितिको प्रस्ताव पारित गरेको हो । 

संचालक समितिका अध्यक्ष डा.शंकरप्रसाद शर्माको अध्यक्षतामा भएको साधारणसभाले आ.व.२०७४/७५ को संचालक समितिको वार्षिक प्रतिवेदनमा छलफल गरी उक्त प्रतिवेदन पारित गरेको छ ।

बैंक र सहायक कम्पनी सिविआईएल क्यापिटल लिमिटेड समेतको लेखापरीक्षकको प्रतिवेदनसहित २०७५ आषाढ मसान्तको वासलात, आ.व. २०७४/०७५ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको बैंकले जनाएको छ । 

अध्यक्ष शर्माले शेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउँदै भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्नसक्ने विश्वास व्यक्त गरेका थिए । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चारलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

बैंकले हालै सातवटै प्रदेशमा प्रदेश हेडक्वार्टर समेत स्थापना गरिसकेको छ।