काठमाण्डौ । वि.सं. २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ। 

यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ। सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब रु. १ खर्व ६२ अर्ब रहेकोमा कर्जातर्फ रु. १ खर्ब ४३ अर्ब रहेको छ र यसै अवधिमा करिब रु. १ अर्ब २४ करोड खुद मुनाफा गर्न सफल भएको छ। 

बैंकले १६ औँ वार्षिकोत्सवका अवसरमा वैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिब ९४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ। जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ। 

यसका साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले ‘रतmदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ ‘नेपाल रेडक्रस सोसाइटी’सँगको सहकार्यमा सातवटै प्रदेशका कुल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रमसम्पन्न गरेको छ।

यसका साथै यसै अवसरमा कोशी प्रदेशअन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ। शिविरमा करिब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथैे आवश्यक औषधीहरुसमेत निःशुल्क वितरण गरेको छ। 

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक रुपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघसंस्थालाई सहयोग गर्दै आइरहेकोमा स्नो याक फाउन्डेसनलाई रु. १ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले आगामी दिनमा अझै उच्चस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछ। 

ग्राहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवाप्रदायकहरुसँग सहकार्य गर्दै आएको बैंकले हालसालै भारतको मेदान्त मेडिसिटी अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतम्म छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ। यसका साथै बैंकले डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकको सहजताका लागि कार्डलेस क्यास विथड्रल सेवा एवं कियोस्क सेवामार्फत ग्राहकले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्टप्रिन्ट गर्ने, क्लियरिङ चेक डिपोजिट गर्नेजस्ता सेवा बैकका कर्मचारीको सहयोगबिना नै प्राप्तगर्न सक्ने सुविधा सञ्चालनमा ल्याइसकेको छ। 

नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहकको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ बैंकमा उपस्थित भई केवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवासमेत सञ्चालनमा ल्याइसकेको छ।  यस प्रकारको सेवाबाट बैंकका ग्राहकले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने साथै डिजिटल बैंकिङ सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ। 

आगामी दिनमा डिजिटल बैंकिङ सेवाको विकासमा बैंक अझै सशक्त रुपमा प्रस्तुत हुने लक्ष्य बैंकले लिएको छ।