काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले आफ्ना मुख्य सूचकहरुमा तीव्र सुधार गर्न थालेको देखिएको छ । बैंकले प्रकाशन गरेको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरणमा सुधारका प्रशस्त संकेतहरु देखिएका हुन् । 

गत वर्ष न्यून लाभांश वितरणकै कारण आलोचित बनेको बैंकले यो वर्ष भने १५ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । 

रिटेन अर्निङबाट आउने रकम र प्रिमियममा भएको रकमसमेत जोडी यो बैंकले चौथो त्रैमासिकसम्म वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड आर्जन गरेको हो । बैंकको चुक्तापूँजी ८ अर्ब ३७ करोड रहेको छ । यो हिसाबले बैंकले आर्थिक वर्ष २०७५/७६ का लागि आफ्ना सेयरधनीलाई १५.७० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने देखिएको छ । 

समीक्षा अवधिमा बैंकले १ अर्ब ४८ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब २३ करोडमा सीमित थियो । 

यो अवधिमा बैंकले २ अर्ब ११ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ६८ करोड रुपैयाँमात्र थियो । 

अघिल्लो वर्ष २ अर्ब २२ करोडमा सीमित खुद ब्याज आम्दानीलाई बढाएर २ अर्ब ८१ करोडको उचाइमा पुर्याएको बैंकले ८ अर्ब ६६ करोड ब्याजबाट मात्र आम्दानी गर्न सफल भएको छ। यो अवधिमा ब्याज खर्चसमेत ५ अर्ब ८४ करोड भएकोले खूद ब्याज आम्दानी २ अर्ब ८१ करोड रहेको हो । 

सीमक्षा अवधिमा बैंकले ७० अर्ब ५० करोड निक्षेप संकलन गरी ६२ अर्ब ९० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६० अर्ब ६९ करोड निक्षेप संकलन गरी ५५ अर्ब ६० करोडभन्दा बढी कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्षको तुलनामा बैंकको रिजर्बमा भने सामान्य संकुचत आएको छ । अघिल्लो वर्ष २ अर्ब ८४ करोड रहेको रिजर्ब घटेर यो वर्ष २ अर्ब ७७ करोडमा सीमित बन्न पुगेको छ । 

कम्पनीले आफ्नो रिटेन अर्निङतर्फ भने ८५८.८५ प्रतिशतको छलाङ मारेको छ । अघिल्लो वर्ष १३ करोड २२ लाखमा सीमित यस्तो अर्निङ बढेर यो वर्ष १ अर्ब २६ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंकले खराब कर्जा पनि घटाउँदै लगेको देखिएको छ । अघिल्लो वर्ष सोही अवधिमा १.४८ प्रतिशत रहेको यस्तो कर्जाको अनुपात घटेर यो वर्ष १.१९ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्ष १५.३७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी समेत बढेर १७.७९ रुपैयाँ पुगेको छ । 

बैंकको क्यापिटल एडेक्वेसी रेसियो १३.१९ प्रतिशत र कस्ट अफ फन्ड १.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष क्यापिटल एडेक्वेसी रेसियो १३.८४ प्रतिशत थियो । राष्ट्रबैंकले तोकेको ११ प्रतिशतको सीमानजिक यस्तो अनुपात आएको देखिन्छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ रु १४८ रहेको छ भने मूल्य आम्दानी अनुपात १२.५९ गुणा रहेको छ ।

बैंकले समीक्षा अवधिमा ७६.७९ प्रतिशतको सीसीडी रेसियो व्यवस्थापन गर्न सकेको देखिन्छ भने आधार दर भने १०.५२ प्रतिशत रहेको छ ।