काठमाण्डौ । सिटिजन्स बैंकले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ ।

बैंकद्वारा जारी विज्ञप्तिमा भदौ २६ गते बिहीबारबाट यो प्रणाली आइसकेको जनाइएको छ । सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालनसम्बन्धी सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । राष्ट्र बैंकले ‘क’ वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो। यसलगत्तै बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो।

यो प्रणाली संचालनमा ल्याउने पहिलो बाणिज्य बैंकको रूपमा सिटिजन्स बैंक रहेको छ । यससँगै अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटीजीएस सुविधाउपभोग गर्न सक्नेछन्।

बैंकका ग्राहकले आवश्यकताअनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइजस्ता कार्य छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

ग्राहकवर्गलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।