काठमाण्डौ । सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रक्रियाको टुंगो लगाउन सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो पाँचौँ विशेष साधारणसभा डोकेको छ। 

बैंकले विशेष साधारणसभा आउँदो चैत १० गते सोमबार काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोगमा गर्ने टुंगो लगाएको हो। सभामा सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत गरिने प्रतिवेदन छलफल गरी पारित हुनेछ। 

सभामा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए रिपोर्ट)का आधारमा तय गरिएको सहयोगी विकास बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१.७५ (१ः०.९१७५) कित्ता सेयर दिने गरी सेयर स्वाप सेयर कायम गर्ने र सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पारित हुनेछ। 

सिटिजन्सले सहयोगीलाई प्राप्ति गर्न गत असार २२ मा दुवै पक्षबीच गरिएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको हुँदा उक्त वित्तीय संस्थालाई प्राप्ति गर्न गरिएको अन्तिम सम्झौतालगायत संयुक्त मर्जर तथा एक्विजिसन समितिबाट भए गरेका कामकारबाहीहरु सभाबाट अनुमोदन हुनेछ। यो प्रक्रियासम्बन्धी गर्नुपर्ने थपघट तथा आवश्यक संशोधनलगायतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको जारी तथा चुक्तापुँजी साबिकको ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार ७१६ बाट वृद्धि भई ९ अर्ब ८ करोड ९८ लाख १७ हजार २९० रुपैयाँ हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

विशेष साधारणसभाका लागि बैंकले चैत ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।