काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एकजना दिवंगत बीमितका परिवारलाई रु. १ करोड मृत्युदाबी रकम भुक्तानी गरेको छ। 

बेनीमा बिहीबार आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु. १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो। सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गरेका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो। रु. ५० लाखको बीमालेख पोलिसी खरिद गरेका बरुवालको घरपरिवारलाई बीमांक रकम रु. ५० लाख, दुर्घटना मृत्यु लाभबापतको रकम रु. ५० लाख र किरिया खर्चबापतको रु ५० हजार गरी एकमुष्ठ रु. १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए। 

सुवेदीका अनुसार २० वर्षको पोलिसी खरिद गरेका बरुवालले प्रत्येक वर्ष रु. २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरी बीमा गरेका थिए। उनले एक वर्षको मात्रै रकम भुक्तानी गरेका थिए। 

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्रान्ड एम्बेसेडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदाबी रकमको चेक हस्तान्तरण गरे थिए। 

कार्यक्रममा महजोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पुर्याउन जरुरी रहेकोमा जोड दिए। ‘मानिसको जीवनको आफैँमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महँगो छ, कम्तीमा आफूले सक्ने क्षमताको बीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ’, श्रेष्ठले भने, ‘बिरामी हुनै नपरे भविष्यमा बचतका रुपमा फिर्ता पाइन्छ।’

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले मानिसका चिन्ता र चुनौतीलाई व्यवस्थापन गर्ने सोचका साथ बीमाको अवधारणाको विकास भएको उल्लेख गर्दै बीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए। उनले नयाँ कम्पनीका रुपमा स्थापित भएको सिटिजन लाइफले बीमितहरुमा नवीन, नयाँ र आकर्षक सुविधासहित आएको बताए।