काठमाण्डौ । सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ति गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले यही माघ ११ गते आइतबारबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।

बैंकले नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो। दुवै वित्तीय संस्थाको गत असोज २८ गते सम्पन्न विशेष साधारणसभाले सिटी एक्सप्रेसलाई प्राप्ति प्रक्रियालाई अनुमोदन गरेको थियो।

त्यसपछि नेपाल राष्ट्र बैंकले गत मंसिर १९ गते, कम्पनी रजिस्ट्रारको कार्यालयले गत पुस ३ गते र नेपाल धितोपत्र बोर्डले गत पुस १० गते पत्र पठाउँदा नेपाल इन्भेस्टमेन्ट बैंकलाई एकीकृत कारोबार सुरु गर्न अनुमति दिएको थियो। 

बैंकले यो फाइनान्सलाई १००ः३० सेयर स्वाप रेसियोमा प्राप्ति गरेको हो। यसको मतलब अब सिटी एक्सप्रेसका सेययधनीहरुले १०० कित्ताबराबर यो बैंकको ३० कित्ता सेयर पाउनेछन्। 

सिटी एक्सप्रेसलाई प्राप्ति गरेपछि नेपाल इन्भेस्टमेन्ट बैंकको चुक्तापुँजी १४.३७ अर्ब पुगेको छ। सिटी एक्सप्रेसको मात्र चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको छ। अब बैंकको प्रवद्र्धकहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुनेछ।