काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले यातायात क्षेत्रको सिण्डिकेट अन्तका लागि चालेको कदमको स्वागत गरेको छ । 

सबै प्रकारको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने विगत लामो समयदेखि आफूहरुले माग गर्दै  आएको उल्लेख गर्दै महासंघले नेपाल सरकार मन्त्रिपरिषद्बाट भएको यातायात क्षेत्रसँग सम्बन्धित संघ संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णयको स्वागत गरेको हो ।

खुला बजार नीति अवलम्बन गरेको मुलुकका लागि सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथा कुनै पनि हालतमा जायज र शोभनीय नहुने धारणा महासंघले निरन्तर राख्दै आएको छ । 

महासंघले विगतमा यस्ता सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको सख्त विरोध गर्दै त्यसको खारेजीका लागि अदालतसम्म पुग्नु परेको विगत समेत स्मरण गराएको छ । 

ट्रक ढुवानीमा समेत जबरजस्ती लागू गरिंदै आएको सिण्डिकेट, कार्टेलिङ र आलोपालो प्रथाको अन्त्य हुनुपर्ने माग महासंघको छ । 

सरकारको निर्णयको विरोधमा सार्वजनिक यातायात सेवा ठप्प पार्ने निर्णय तत्काल फिर्ता लिई सार्वजनिक यातायातलाई चुस्त, दुरूस्त र प्रभावकारी बनाउने सरकारको प्रयासमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सबै यातायात व्यवसायी र सोसँग सम्बन्धित संघ संस्थाहरूलाई महासंघले आग्रह गरेको छ ।