काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स र नेपाल स्टक एक्सचेञ्जको मिलेमतोमा लाभांश सम्बन्धी महत्वपूर्ण सूचना आम लगानीकर्ताको पहुँचबाट टाढा पुर्याउने र बाहिर नल्याउने नियतले कपटपूर्ण काम भएको रहस्य उद्घाटन भएको छ । 

सूचिकृत कम्पनीहरुले लाभांश र यस्तै विषयमा हुने महत्वपूर्ण निर्णयहरु आम लगानीकर्ताले सहजै देख्ने गरी नेप्सेको कर्पोरेट डिस्क्लोजरमा सार्वजनिक गर्नुपर्ने हुन्छ । जसका लागि नेप्सेले कम्पनी सम्बन्धी सूचना तथा जानकारीहरु कम्पनी आफैंले अपलोड गर्नसक्ने सुविधा समेत उपलब्ध गराई केही वर्षदेखि लगइन समेत दिने गरेको छ । तर, यी सबै सुविधा उपलब्ध भए पनि लगानीकर्ताको निगरानीबाट बच्न र लाभांश सम्बन्धी महत्वपूर्ण निर्णय सम्बन्धी सूचनालाई लुकाउन सिद्धार्थ इन्स्योरेन्सका जिम्मेवार अधिकारीहरुसँग नेप्सेकै अधिकारीहरु समेत मिलेका देखिएको छ । 

प्रसंग हो, सिद्धार्थ इन्स्योरेन्सले हालै लाभांश बाँड्न नसक्ने भनी गरेको निर्णयको । यो निर्णयको विषयमा बजारका अधिकांश लगानीकर्ता बेखबर झै छन् । लगानीकर्ता मात्र होइन, सार्वजनिक सञ्चारमाध्यमहरुले समेत यो विषय लेखेका छैनन् । यसको एउटा कारण हो त्यस्ता बजार संवेदनशील सूचना आउने कर्पोरेट डिस्क्लोजरमा यो विषयसँग सम्बन्धित सूचना उपलब्ध नहुनु । 

उसो भए, भएको चाहि के रहेछ त ? सिद्धार्थ इन्स्योरेन्सले नेप्सेका अधिकारीहरुसँग मिलेर लाभांश वितरण गर्न नसक्ने भनी गरेको निर्णय आम लगानीकर्ताले सहजै देख्न नसक्ने गरी लुकाइएको रहेछ, त्यो पनि नेप्सेकै वेबसाइटको कुनै कुनामा । 

सिद्धार्थ इन्स्योरेन्सले माघ १६ गते नेप्सेलाई पत्र लेख्दै आर्थिक वर्ष २०७५/७६ का लागि लगानीकर्तालाई कुनै लाभांश दिन नसक्ने व्यहोरा प्रष्ट पारेको छ । पत्रअनुसार माघ १५ गते बुधबार अपरान्ह ४ बजे बसेको सो कम्पनीको संचालक समितिको १५५ औं बैठकले बिमा समितिबाट जारी निर्जीवन बिमा कम्पनीको वित्तीय विवरण सम्बन्धी निर्देशिका तथा नेपाल वित्तीय प्रतिवेदनमान्(एनएफआरएस) बमोजिमको आ.ब. २०७५/७६ को वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि बिमा समितिमा पेश गर्ने निर्णय गरिएको उल्लेख छ।

चलानी नम्बर ३६५३/२०७६/७७ रहेको सोही पत्रको दोश्रो अनुच्छेदमा बिमा समितिबाट जारी निर्जीवन बिमा कम्पनीको वित्तीय विवरणअनुसार आब २०७५/७६ को खूद नाफा २४ करोड ४७ लाख ३४ हजार ३९ रुपैयाँ र एनएफआरएसअनुसारको खूद नाफा २४ करोड ९३ लाख ७६ हजार ९४६ रुपैयाँ देखिएता पनि नियमनकारी व्यवस्था र निर्देशन बमोजिम एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्दा आवश्यक जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएको उल्लेख गर्दै कुनै पनि लाभांश/बोनस सेयर प्रस्ताव नगरिएको उल्लेख छ । 

कम्पनी सचिव सुदर्शन आचार्यले हस्ताक्षर गरेको सो पत्रको विषयमा बजार लगभग बेखबर छ । कतिपय लगानीकर्ता त सिद्धार्थ इन्स्योरेन्सले यो वर्ष राम्रो लाभांश दिने अनुमान लगाउँदै दोश्रो बजारबाट यो कम्पनीको अहिले पनि सेयर महङ्गो मूल्यमा उठाइरहेका छन्, जब कि नेप्सेले यो कम्पनीको लाभांश दिन नसक्ने व्यहोराको यो पत्र सबैले देख्ने ठाउँमा राखिदिएको भए राम्रो लाभांशको आशामा पैसा लगाउनेहरु फस्ने थिएनन् । 

यसरी सिद्धार्थ इन्स्योरेन्स र नेप्सेका अधिकारीहरुको मिलेमतोमा लगानीकर्ताहरुलाई कुहिराको काग झै बनाएर फसाउने नियतले काम भएको स्रोत दाबी गर्छ । एक महिनाअघिसम्म प्रतिकित्ता ४७३ रुपैयाँ रहेको यो कम्पनीको दोश्रो बजार मूल्य ६०० रुपैयाँसम्म पुर्याउने काम समेत भएको देखिन्छ । 

लगानीकर्ताहरुले यो विषयमा छानबिन गर्न समेत माग गरेका छन् ।