काठमाण्डौ । जनता बैंकसँग बिलयको सम्झौता गरेको सिद्धार्थ डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा ४६.८९ प्रतिशतको प्रगति हासिल गरेको छ ।

यो विकास बैंकको अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म खुद नाफा १९ करोड ६२ लाख रुपैयाँ रहेकामा बढेर यो वर्ष सोही अवधिमा २८ करोड ८३ लाखको उचाईमा पुगेको हो ।

बैंकको संचालन मुनाफा समेत वृद्धि भएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ३१ करोड ८९ लाख रुपैयाँ रहेको संचालन मुनाफा ४४ करोड २५ लाखको उचाईमा पुगेको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी ३० करोड ६७ लाखबाट वृद्धि भई ५८ करोड ४५ लाखको उचाईमा पुगेको छ । बैंकले यो अवधिमा १३ अर्ब ६९ करोड निक्षेप संकलन गरी १२ अर्ब १५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ८ अर्ब ३४ करोड निक्षेप संकलन गरी ७ अर्ब ३८ करोड कर्जा परिचालन गरेको थियो ।

निस्क्रिय कर्जातर्फ भने बैंकले खासै उत्कृष्ट नतिजा निकाल्न सकेन । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यस्तो  कर्जा  २.४५ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा सामान्य घटी २.४२ प्रतिशतमा मात्र झरेको छ ।

तेश्रो त्रैमाससम्म बैंकको वार्षिकीकृत प्रतिसेयर  आम्दानी २७.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४९.२८ रुपैयाँ रहेको छ । हाल यो बैंकको चुक्तापुँजी १ अर्ब ४१ करोड र जगेडा कोषमा ६९ करोड ९३ लाख रुपैयाँ रहेको छ ।