काठमाण्डौ । बजारमा निजी क्षेत्रको टप बैंक, नवीलसँग मर्जर वा एक्वीजिसनमा जान लागेको हल्ला चलाएर सेयरमूल्यमा खेल्ने काम भएपछि एक बैंकले सो विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ।

केही मिडियाहरुले सिद्धार्थ बैंक र नवील बैंकबीच मर्जर हुन लागेको समाचारहरु प्रकाशित भएका थिए । सोही समाचारलाई आधार मानी बजारका खेलाडीहरुले सामाजिक सञ्जालमा समेत यो विषयलाई भाइरल बनाएपछि सिद्धार्थ बैंकको सेयरमूल्य बढ्न थालेको छ । 

बजारमा सिद्धार्थ र नवील बैंकबीच मर्जर हुने हल्ला चलाएर मूल्यमा खेल्ने काम भएपछि सिद्धार्थ बैंकले नेपाल स्टक एक्सचेञ्जलाई एक पत्र लेख्दै बजारमा चलेका हल्ला आधारहीन रहेको बताएको हो । 

सिद्धार्थ बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेका अनुसार सिद्धार्थ बैंक कुनै बैंकसँग मर्जर वा एक्वीजिसनमा जान लागेको समाचारमा कुनै आधिकारिता नभएको प्रष्ट पारेका छन् । 

केही दिनअघिदेखि एनसीसी बैंक पनि नवीलमा मर्ज हुन लागेको हल्ला चलाएर सो बैंकको मूल्य लगातार बढाउने काम भइरहेको छ । 

स्वार्थ समूहहरुले राम्रा कम्पनीसँग कमजोर कम्पनीको नाम जोडेर सुनियोजित ढंगले हल्ला फैलाउँदै बजारमा चलखेल गरिरहँदा समेत नियामक धितोपत्र बोर्डले पनि चासो दिएको छैन । यस्ता घटनाक्रमहरुतर्फ बोर्डको उदासीनता देखिँदै आएको छ ।