काठमाण्डौ। सिद्घार्थ बैंक लिमिटेडले काठमाण्डौको टोखास्थित फ्रेन्डशिप फाउन्डेशन नेपाललाई आइतबार सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। उक्त रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले फ्रेण्डशिप फाउन्डेशन नेपालका अध्यक्ष  प्रकाशबाबु पौडेललाई हस्तान्तरण गरेका छन्। 

बैंकबाट प्राप्त उक्त रकम फ्रेन्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाउँपालिका–१ केराबारीस्थित शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ। विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हुँदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पूर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीका लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ। 

बैंकले हरेक आर्थिक वर्ष आफ्नो खुद नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले वित्तीय साक्षरता, वातावरण, शिक्षा, स्वास्थ्य, दुर्गम र विपन्न वर्ग तथा समुदायको विकास, दैवीप्रकोप व्यवस्थापन, सांस्कृतिक प्रवर्धन, दिगो विकास आदिजस्ता क्षेत्रमा सहभागिता जनाउँदै सकारात्मक परिवर्तनका लागि विभिन्न योगदान पुर्याउँदै आएको छ। आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य बैंकले लिएको छ।