काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंकका नवनिर्वाचित अध्यक्ष रामबहादुर भण्डारीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी समक्ष मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् । 

सपथसँगै उनले मंगलबारदेखि नै आफ्नो पदीय जिम्मेवारी समेत सम्हालेका बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ लागू भए पश्चात उक्त ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले आफू निर्वाचित भए पश्चात तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष सपथ लिनुपर्ने ब्यवस्था गरे बमोजिम नवनिर्वाचित अध्यक्ष भण्डारीले नेपाल राष्ट्रबैंकमा आयोजित विशेष समारोहमा सपथ लिएका हुन् । 

यो विकास बैंकको जेठ १२ गते सम्पन्न विशेष साधारणसभाले अध्यक्ष भण्डारीका साथै सञ्चालकहरु रतनलाल अग्रवाल, उद्धवचन्द्र गौतम संस्थापक समूूहबाट र अर्जुनकुमार भट्टराई, बद्री खनाल र एनपीसिएम इण्भेष्टमेण्ट प्रा.लि. सर्वसाधारण समूहबाट गरी जम्मा ६ सदस्यीय सञ्चालक समितिको निर्वाचन गरेको थियो । सञ्चालक समिति सदस्यहरुले आफूूमध्येबाट निवर्तमान अध्यक्ष भण्डारीलाई नै सञ्चालक समितिको अध्यक्षको रुपमा चयन गरेका थिए । 

सिद्धार्थ डेभपलमेन्ट बैंकको सो विशेष साधारणसभाले जनता बैंकसँग बिलय हुने प्रस्तावलाई सर्वसम्मपत्तिले पारित गरेको थियो ।