काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको आज सम्पन्न  १९ औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश अनुमोदन गरेको छ।

काठमाण्डौको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा आयोजित सभाले १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) अनुमोदन गरेको हो। 

भर्चुअल माध्यमबाट भएको सभाले सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाबाट प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ। 

उक्त अवसरमा आर्थिक वर्ष २०७६/७७ मा विभिन्न बीमा व्यवसायअन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोे जानकारी दिइयो। चालु आर्थिक वर्षको आजसम्म २ अर्ब १ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन भइसकेको पनि सभामा जानकारी गराइएको थियो। उक्त वीमा शुल्क संकलन गत आर्थिक वर्षको सोहीको तुलनामा १६.०७ बढी रहेको छ।