काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश पनि कम्पनीले वितरण गर्नेछ। 

सभाले बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सोही सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ। 

सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।