काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २० औँ वार्षिक साधारणसभा आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश पारित गरेको छ। 

काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा भएको सभाले १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको हो। 

सभाले बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सोही सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ। 

सभाले कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।

सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष  रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए। आव २०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसायअन्तर्गत रु. २ अर्ब ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे थियो भने चालु आवको साधारणसभाको दिनसम्म कम्पनीले १ अर्व ९२ करोड बीमा शुल्क आर्जन गरिसकेको जानकारी गराइएको छ।