काठमाण्डौ । गत वर्ष असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्मको लगातारको वर्षाका कारण क्षति पुगेको परियोजनाका लागि सिद्धार्थ इन्स्योरेन्सले कुमार-सीएफईसी जेभीलाई दाबी भुक्तानी गरेको छ। 

वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त–१२ ओदालीस्थित निर्माणाधिन ६ लेनको सडक मनोरञ्जन पार्कका लागि बनेका पोखरीका संरचना र ४ लेनको पक्की पुलको पहुँच मार्गमा ठूलो क्षति पुगेको थियो। उक्त परियोजनाको सिद्धार्थ इन्स्योरेन्समा ठेकेदारको सम्पूर्ण जोखिम बीमा गरिएको थियो। 

मूल्यांकनकर्ताबाट मूल्यांकन भई कायम भएको क्षतिबापतको बीमा रकम रु. ८ करोड ९७ लाख ९८ हजारको चेक सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले बीमित कुमार-सीएफईसी जेभीका प्रतिनिधि सुशीलकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।