काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफामा पहिरो गएको छ । गत वर्ष जतिको व्यवसाय गर्न नसक्दा र बढेको पूँजी अनुसार नाफा कमाउन नसक्दा इपीएसमा डरलाग्दो पहिरो गई लगानीकर्ताले टाउकोमा हात राख्नुपर्ने अवस्था सिर्जना भएको छ । 

बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापन कोषबाट १७ करोड ७० लाख फिर्ता ल्याउँदा समेत नाफा खुम्चिएर २१ करोड ६४ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ३५ करोड ९६ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा सिद्धार्थ बैंकको कर्मचारी खर्च तथा अन्य संचालन खर्च समेत अनियन्त्रित रुपले बढेको देखिन्छ । 

बैंक व्यवस्थापन व्यवसाय बिस्तारमा खरो उत्रिन नसक्दा खूद ब्याज आम्दानीतर्फ समेत उस्तै पहिरो गएको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ६२ करोड ७२ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर समीक्षा अवधिमा ५० करोड ९८ लाखमा झरेको छ । 

यो अवधिमा बैंकले संभावित जोखिम व्यवस्थापनका लागि ३४ करोड ९५ लाख राखेको छ । 

समीक्षा अवधिमा बैंकले ७७ अर्ब ८७ करोड निक्षेप संकलन गरी ६८ अर्ब ८९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ७० अर्ब  निक्षेप संकलन गरी ५८ अर्ब ९३ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको रिजर्ब कोषमा सामान्य गिरावट आएको छ । रिजर्ब घट्नुुलाई राम्रो मानिदैन । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३ अर्ब ५८ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको कोष घटेर यो वर्ष ३ अर्ब ५८ करोड ३ लाख १९ हजारमा सीमित बन्न पुुगेको छ । यसरी रिजर्ब कोषमा ९५ लाख रुपैयाँ घटेको देखिएको हो । 

समीक्षा अवधिमा बैंकमा खराब कर्जा थुप्रिदै गएको देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १.५९ प्रतिशत रहेको यस्तो कर्जा बढेर २.०१ प्रतिशत पुुगेको हो । अघिल्लो वर्ष ३.९५ प्रतिशत रहेको कस्ट अफ फण्ड समेत बढेर समीक्षा अवधिमा ७.३२ प्रतिशत पुुगेको छ । 

यो बैंकको इक्वीटीमा प्रतिफल समेत घटेर चौपट भएको छ । अघिल्लो आबेको यही अवधिमा २०.६६ प्रतिशत रहेको इक्वीटीमा प्रतिफल यो वर्ष घटेर ८.३२ प्रतिशतमा सीमित बन्न पुुगेको हो । 

समीक्षा अवधिमा यो बैंकको प्रतिसेयर आम्दानी घटेर १२.६८ रुपैयाँमा सीमित बन्न पुुगेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको इपीएस ४७ रुपैयाँ ६१ पैसा थियो । अघिल्लो वर्ष ३ अर्ब ३७ करोड रुपैयाँ रहेको पूँजीलाई बढाएर बैंकले ६ अर्ब ८४ करोड पुर्याए पनि सो अनुसार नाफा बढाउन नसक्दा इपीएसमा ठूलै पहिरो गएको हो । एकातिर बैंकले गत वर्ष जतिको समेत व्यवसाय बिस्तार गर्न नसक्नुु, बढेको पूँजीअनुसार नाफा कमाउन नसक्नुुले अवस्था निकै भयावह बन्नसक्ने देखिएको छ । सिद्धार्थ बैंकमा आँखा चिम्लिएर लगानी गर्नेहरुले यो रिपोर्ट हेरेपछि एकपटक सोच्नैपर्ने भएको छ । 

प्रतिसेयर नेटवर्थ १५२.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३२.६८ गुणा कायम भएको छ ।