काठमाण्डौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभर आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा सिन्धुलीको कमलामाई, धुराबजारमा साउन २१ गतेबाट औपचारिक रुपमा शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

शाखाको समुद्घाटन कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि मेयर खड्गबहादुर खत्रीले नेपालजस्तो विकासोन्मुख देशमा रहेर पनि मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु प्रशंसनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भनी शुभकामना दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी दिएका थिए । 

यो बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताउनु भयो ।त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता समेत उनले सो क्रममा व्यक्त गरेका थिए ।

त्यसैगरी, उक्त कार्यक्रमका विशिष्ट अतिथि उद्योग वाणिज्य संघ, सिन्धुलीका अध्यक्ष अमरेश चन्द्र वैदार, उद्योग वाणिज्य संघ, सिन्धुलीका पुर्व अध्यक्ष विनेश कुमार तथा रेडक्रस सोसाईटीका अध्यक्ष अशोक श्रेष्ठले पनि बैंकको प्रगतिको कामना गर्र्र्दै शुभकामना व्यक्त गरेका थिए । सो समारोहमा स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ९५ वटा शाखा, १५ वटा ए.टि.एम. र तीन लाख पचहत्तर हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।