काठमाण्डौ । सिभिल बैंकले यसअघि प्रस्ताव गरेको ३० प्रतिशत हकप्रदलाई बढाएर ४० प्रतिशत निश्कासनको प्रस्ताव पारित गरेको छ । बिहीबार राजधानीमा सम्पन्न बैंकको छैठौं वार्षिक साधारणसभा(एजीएम)ले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई प्राप्तिपछि कायम हुन आउने चुक्तापुँजीको ४० प्रतिशतको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको हो । 

एजीएमले सेयर स्वाप रेसियोसहित २ फाइनान्सलाई प्राप्ति गर्ने निर्णय समेत गरेको छ । बैंकले युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई सिभिल बैंक लिमिटेडले प्राप्ति गर्ने निर्णय गरेको छ । डिडिए रिपोर्टका आधारमा सिभिल बैंक लिमिटेडको १ कित्ता शेयर बराबर युनिक फाईनान्स लिमिटेडका शेयरधनीहरुलाई सिभिल बैंक लिमिटेडको ०.९० कित्ता र हामा मर्चेन्ट फाईनान्स लिमिटेडका शेयरधनीहरुलाई सिभिल बैंक लिमिटेडको ०.८९  कित्ता शेयर प्रदान गरी दुवै लक्षित संस्थालाई प्राप्ति गर्ने  निणर्य गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सभाले आ.व.२०७२/७३ को नाफाबाट शेयरधनीहरुलाई २.८८% बोनस शेयर तथा कर प्रयोजनको लागि ०.१५१६% नगद लाभांश बितरण गर्ने निर्णय समेत पारित गरेको छ । 

साधारणसभाले संस्थापक लगानीकर्ताहरुको समूहको तर्पmबाट संचालक समितिमा सिर्जना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागि गरेको नियूक्तिलाई अनुमोदन समेत गरेको छ । 

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म रु. ३३.८१ अर्ब निक्षेप संकलन गरी रु. ३१.२ अर्ब कर्जा प्रवाह गरेको यस बैंकले मुलुकभर ५१ शाखा तथा ९ शाखा रहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक सेवा दिंदै आएको छ भने ३४ स्थानहरुमा एटिएम जडान गरिसकेको छ । सभाले पारित गरेको बोनस शेयर प्राप्ति र हकप्रद शेयर पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा ८ अर्ब पुुग्ने बताइएको छ ।