काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौको अत्तरखेलमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। 

अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका सञ्चालक समितिका सदस्य भीमानन्द ढुंगानाले संयुक्त रुपमा गरे। नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सूचनालाई पालन गर्दै पूर्वनिर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारिक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ। 

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री ओख्रेनी माध्यमिक विद्यालय सुन्दरीजललाई विद्यालयको ई–लाईव्रेरीका लागि १ थान कम्प्युटर तथा श्री रामजानकी आधारभुत विद्यालय नयॉपाटीका विद्यार्थीका लागि ५० थान स्कुल ब्याग हस्तान्तरण गरिएको थियो। 

मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापनासंगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी सिर्जनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिए। उनले यस क्षेत्रका बासिन्दालार्इ आफूलाई आवश्यक पर्ने पुँजीका लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफूसँग भएको ससाना पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याजआर्जन गर्न आग्रह गरे। 

ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भव नहुने बताए।