काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको नकारात्मक प्रभाव सिभिल बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको व्यापार परेको छ। 

बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा बैंकको खुद नाफा ३५.३९ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको नाफा ७० करोड ७४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा घटेर ४५ करोड ७० लाख रुपैयाँमा सीमित बनेको छ।

बैंकको वितरणयोग्य मुनाफा भने २५ करोड २१ लाख रुपैयाँ छ। 

बैंकको सञ्चालन मुनाफामा पनि भारी गिरावट आएको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ६७ करोड ४२ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब १७ करोड रुपैयाँ रहेको थियो।

यो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानीबापत २ अर्ब २३ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब २० करोड रुपैयाँ रहेको थियो। 

बैंकले समीक्षा अवधिमा ५७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले ४१ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १२.२१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब ६० करोड रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा बढेर १ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

बैंकको आधार दर भने १.२७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ११.११ प्रतिशत रहेको आधार दर समीक्षा अवधिमा घटेर ९.८४ प्रतिशतमा सीमित बनेको छ। 

बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात २.३८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यो अनुपात २.३७ प्रतिशत थियो। 

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ५.७१ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात २४.३४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२५.८५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९६४.५८ रुपैयाँ रहेको छ।