काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको सतप्रतिशत हकप्रद सेयरमा खरिद आवेदन दिने समयसीमा बढाएको छ।

संस्थाले हकप्रद सेयरमा आवेदन दिने मिति १५ दिन बढाएर भदौ २९ गतेसम्म पुर्याएको हो। यसअघि संस्थाको हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति भदौ १४ गतेसम्म तोकिएको थियो। 

विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकालगायत विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेका कारण हकप्रदमा आवेदन दिने मिति लम्ब्याउनुपरेको हकप्रद निष्कासन तथा बिक्री प्रबन्ध सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ।

संस्थाले गत साउन २५ गतेदेखि चुक्तापुँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँको १ः१ अनुपात अर्थात विद्यमान एक कित्ता साधारण सेयरबराबर नयाँ एक कित्ता साधारण सेयर सेयरधनीहरुका लागि बिक्री खुलाएको छ। संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ११ लाख ४१ हजार १४० कित्ता हकप्रद निष्कासन गरेको छ। 

हकप्रद निष्कासनका लागि संस्थाले गत असार १५ गते बुक क्लोज गरेको थियो। यसको मतलब असार १४ गतेसम्म कायम सेयरधनीहरुले संस्थाको हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।