काठमाण्डौ । सिभिल बैंक लिमिटेडले संस्थापक समूहको झन्डै पौने ९ लाख कित्ता सेयर आज शुक्रबारबाट लिलामीमा राखेको छ।

बैंकले ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामी सेयरमा आवेदन दिँदा न्यूनतम १० हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतम सेयर संख्यामा आवेदन दिँदा भने कुनै हद लाग्ने छैन।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले सोही मूल्य वा सोभन्दा बढी रकम अंकित गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले गोप्य शिलबन्दी बोलपत्र सिभिल क्यापिटलमा बुझाउनुपर्नेछ। 

बोलपत्र असोज ३० गते बैंकिङ समयभित्र पेस गर्नुपर्नेछ।