काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको झन्डै ९० हजार कित्ता अतिवरित हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।

संस्थाले गत असोजबाट कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमा राखेको छ । यो लिलामीमा गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म जारी हकप्रदमा बिक्री नभएका संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता सेयर राखिएका छन्। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। 

संस्थापक संस्थापक, सर्वसाधारण, कानुनबमोजिम योगय संघसंस्थाहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। दोश्रो बजारमा सिभिल लघुवित्तको सेयर प्रतिकित्ता रु. ७०० भन्दा बढीमा किनबेच भइरहेको छ। 

लिलामीमा बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताहरुले काठमाण्डौको कमलादीस्थित सेञ्चुरी क्यापटलको कार्यालय वा सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौँडा, नारायणगढ, घोराही, बागलुङ र महेन्द्रनगरमा आवेदन पेस गर्न सक्नेछन्।