काठमाण्डौ । सिभिल बैंक लिमिटेडको आज आइतबार सम्पन्न १० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएका कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको छ।

भर्चुअल माध्यमबाट सम्पन्न सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.९१ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनका लागि प्रतिसेयर ०.४२ प्रतिशतले हुन आउने ३ करोड ३६ लाख ९८ हजार ४८२.८४ रुपैयाँबराबरको नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्न स्वीकृत भएको हो। 

सभाले चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नका लागि एनबीएसएम एन्ड एसोसियट्सलाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकका तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ।

सिभिल बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहकलाई निरन्तर रुपमा चुस्तदुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ। 

बैंकले ५ लाखभन्दा बढी ग्राहकलाई ११४ शाखा, ६ एक्सटेन्सन काउन्टर तथा ८९ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। बैंकले ७८ अर्बभन्दा बढी निक्षेप संकलन र ७२ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ।