काठमाण्डौ। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। 

गत जेठ २७ गतेमा बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा आज असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो। पोखरेलले आजैबाट पदभार ग्रहण गरेका छन्। उनको पदावधि ४ वर्षको हुनेछ। 

पोखरेल गत वैशाख १८ गतेदेखि कामु सीईओका रुपमा कार्यरत थिए। उनी विगत २ वर्षदेखि सिभिल बैंकमा नायव सीईओका रुपमा आबद्ध थिए। 

नेपालका विभिन्न बैंकहरु (स्ट्यान्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एनआईसी एशिया बैंकमा साढे ५ वर्ष, नबिल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक गरी २४ वर्षको अनुभव र नेपालबाहिर विभिन्न अन्तर्राष्ट्रिय बैंकहरु (स्ट्यान्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष) मा ६ वर्षसमेत गरीे कुल ३ दशक लामो बैंकिङ अनुभव रहेको छ।

डिजिटलाइजेसनका माध्यमबाट कर्मचारीहरुको कार्यक्षमतामा अभिवृद्धि गर्दै कागजरहित बैंकका रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने बैंकका नवनियुक्त सीईओ पोखरेलले प्रतिबद्धता व्यक्त गरेका छन्। 

पोखरेलकोे विगत ३ दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाइमा पुर्याउनेमा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए। उनले बैंकले चालु आवमा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढुनेमा विश्वस्त रहेको कुरा पनि जानकारी दिए। 

बैंकले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु. ८८.९४ अर्बको निक्षेप र रु. ८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ।