काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका–७ भेडीयामा बुधबारदेखि शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। योसहित बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ६९ पुगेको छ। 

बैंकले त्यहाँ शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा दीपेन्द्र शाहलार्ई नियुक्त गरेको छ। 

उद्घाटनका अवसरमा प्रमुख अतिथिमा जिल्ला समन्बय समितिका सिराहाका अध्यक्ष रामचन्द्र ठाकुर, वडा नं. ७ का अध्यक्ष रामकुमार श्रेष्ठ र बैंकका प्रदेश नं २ का प्रमुख रोहितकुमार महाशेठको उपस्थिति रहेको थियो। कार्यक्रममा सनराइज बैंकका मिरचैंया शाखाका शाखा प्रबन्धक र अन्य बैंकका कर्मचारीको समेत उपस्थिति थियो।

बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवाहरु लिन सकिने जनाएको छ। कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दामा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।

हालसम्म बैंकले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउन्टरर १५५ वटा एटीएममार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।