काठमाण्डौ । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई आज परिसंघको कार्यालय थापाथलीमा स्वागत गरेको छ । 

उद्योग परिसंघको तर्फबाट सतिशकुमार मोरले उनीहरुलाई स्वागत गरेका हुन् । 

स्वागत कार्यक्रममा बोल्दै उद्योग परिसंघका अध्यक्ष मोरले परिसंघले “मेक इन नेपालः स्वदेशी” अभियानलाई अगाडि बढाइरहेको बताए । यस अभियानले नेपालमा स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्य राखेको बताए । यो अभियानमा परिसंघले नेपालका निजी क्षेत्रका अन्य संघसंस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने प्रष्ट पारे ।

अध्यक्ष मोरले बैंक तथा वित्तीय क्षेत्रका धेरै विषयहरु परिसंघले उठाउँदै आएको र परिसंघका सुझावहरुलाई नेपाल राष्ट्र बैंकले सकारात्मक रुपमा लिई धेरै सुझावहरुलाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको बताए । 

उद्योग र बैंक तथा वित्तीय संस्था एकअर्काको पर्याय भएकोले आगामी दिनमा पनि बैक तथा वित्तीय संस्था परिसंघ नेपालसँग उद्योग परिसंघले बैक तथा वित्तीय क्षेत्रका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने वचन दिए । 

कार्यक्रममा बोल्दै बैक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योग परिसंघले सिविफिनका पदाधिकारीहरुलाई स्वागत एवम् बधाई ज्ञापन गरेकोप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सिएनआइ र सिविफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई तदारुकताका साथ अगाडि बढाउने बताए । 

कार्यक्रममा उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने सिविफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, महासचिव केशवबहादुर रायमाझी र सचिव कुशप्रसाद मल्लीको उपस्थिति थियो ।