काठमाण्डौ । निकट सयममै ६ कम्पनीका करिब १४ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर आउने भएको छ ।

निकट समयमा ३ हाइड्रोपावर, २ अन्य सेक्टर र १ विकास बैंक समूहबाट कुल ६ कम्पनीका करिब १४ अर्ब रुपैयाँको हकप्रद आउन लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

हाइड्रोपावर, विकास बैंक र अन्य समूह गरी कुल ६ कम्पनीका १३ करोड ८३ लाख ९० हजार १५७ दशमलव ४० सेयर निष्कासनका निम्ति कुल १३ अर्ब ८३ करोड ९० लाख १५ हजार ७४० रुपैयाँ बराबरको हकप्रद आउन लागेको हो ।

हकप्रद निश्कासनको स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खेका हाइड्रोपावर कम्पनीहरुबाट ङादी, अरुण भ्याली र बरुण हाइड्रोपावर कम्पनी रहेका छन् भने विकास बैंक समूहबाट नारायणी डेभलपमेन्ट बैंकको पनि हकप्रद आउने भएको छ । 

यसैबीच अन्य समूहअन्तर्गत रहेका नागरिक लगानी कोष र एचआइडीसीएल पनि हकप्रद निश्कासन गर्ने तर्खरमा छन् ।

हकप्रद निष्कासनको निम्ति धितोपत्र बोर्डमा आवेदन गरेका ङादी हाइड्रोपावरले चुक्तापूँजीको ३० प्रतिशत, अरुण भ्यालीले चुक्तापूँजीको १०० प्रतिशत र बरुण हाइड्रोपावरको समेत १०० प्रतिशत हकप्रद स्वीकृतिको पर्खाइमा छ । 

नेप्सेमा भर्खरै पुनः सेयर कारोबार फुकुवा भएको नारायणी डेभलपमेन्ट बैंकले पनि १०० प्रतिशत हकप्रद निष्कासन गर्दैछ । 

यसैबीच नागरिक लगानी कोषले चुक्तापूँजीको ८२.८४ प्रतिशत र एचआइडीसीएलले भने १०० प्रतिशत हकप्रद निष्कासनका लागि बोर्डसमक्ष आवेदन दिएका छन् ।