काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) ले लिलामीमा राखेको अवितरिक हकप्रद सेयरमा बोलपत्र पेस गर्ने आज (चैत २ गते) अन्तिम दिन रहेको छ।

सीआईटीले गत फागुन २१ गतेदेखि लिलामीमा राखिएको अवितरित ३ लाख ५४ हनार १५०.०५ कित्ता सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। गत पुस २८ गतेदेखि माघ १९ गतेसम्म सीआईटीले निष्कासन गरेको हकप्रदमा खरिद आवेदन नपरेका सेयर लिलामीमा राखेको हो। 

लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले जनाएको छ।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ राखिएको छ। यसको लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी आवेदन दिनुपर्नेछ। 

लगानीकर्ताहरुले आवेदन दिन न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन। 

आवेदन काठमाण्डौको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायणगढ, बागलुङ, बुटवल, रुपन्देही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर र महेन्द्रनगरबाट तथा नागरिक लगानी कोषको काठमाण्डौ नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालय र शाखाहरु विराटनगर तथा पोखराबाट पनि आवेदन पेस गर्न सक्नेछन्।