काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी) को ३ लाख ५० हजार कित्ता बढी संस्थाक सेयर आज आइतबारबाट लिलामीमा राखिएको छ।

एनआईसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सीआईटीको ३ लाख ५० हजार ३६९ कित्ता सेयर लिलामीमा राखेको हो। लिलामीमा सेयरमा प्रचलित कानुनबमोजिम योग्य जोसुकै लगानीकर्ताहरुले पनि खरिद आवेदन दिन सक्नेछन्। 

लिलामीमा राखिएको सीआईटीको संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ३६६ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यो लिलामी सेयरमा लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउनेछन्। 

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालय तथा एनआईसी एसिया बैंकको काठमाण्डौ थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय वा शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा पेस गर्न सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति आउँदो जेठ २७ गते बैंकिङ समयसम्म तोकिएको छ।