काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको ‘मेरो सेयर’ पोर्टलमा थुप्रै दिनदेखि समस्या देखिए पनि समाधान हुन सकेको छैन। एक साताभन्दा अघिदेखि मेरो सेयरमा प्राविधिक समस्या देखिएकोमा समाधान गर्नभन्दा पनि समस्या झन् विकराल बन्दै गएको हो। 

यता सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्य भने मेरो सेयरको समस्या समाधान भइसकेको जिकिर गर्छन्। ‘रिफ्रेस गर्नुस् मेरो सेयर चलिरहेको छ’, आचार्यले बिजशालासँग भने, ‘हिजो–अस्तिदेखि नै स्मुथली चलिरहेको छ त।’

नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले विगत धेरै दिनदेखि मात्रै हैन अहिले पनि मेरो सेयर नचलेर दुःख पाइरहेको बताइन्। ईडीआइैएस गर्न असहज अवस्था आएपछि बैंकहरुले डीआईएस चेक दिनै छाडेको र क्लोजआउटमा परी जरिवाना लगानीकर्ताका टाउकोमा परिरहेको उनले जिकिर गरिन्।

यो समाचार तयार पार्दै गर्दासमेत हामीले लगानीकर्ताहरुलाई जिज्ञासा राख्दा मेरो सेयर नचलेको बताए। मेरो सेयर सेवामा अवरुद्ध हुँदासमेत सीडीएससीका सीईओ आचार्य भने चलिरहेको दाबी गर्र्दै पन्छिरहेका छन्। उनले हिजोबाट नै मेरो सेयर चलेको तर लगानीकर्तालाई चलाउनै नआएको संकेत गरे।