काठमाण्डौ । सीडीएस एन्ड क्लिरिङ लिमिटेड (सीडीएससी) र मर्चेन्ट बैंक (क्यापिटल) को मिलेमतोमा नेप्सेमा सूचीकृत कम्पनीका सेयरधनीको सम्पूर्ण विवरण चुहावट भइरहेको खुलासा भएको छ। तर सीडीएससीले भने अबदेखि नयाँ कम्पनीको आईपीओ बाँडफाँड नतिजा निजी अनलाइन सञ्चारमाध्यमलाई नदिने निर्णय गरेको छ।

प्राथमिक बजारमा १६ लाखभन्दा बढी सर्वसाधारणले सहभागिता जनाइरहेकै बेला सीडीएससीले आईपीओ नतिजा निजी अनलाइन सञ्चार माध्यमलाई नदिने निर्णय गरेको हो। सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले विनियममा भएको व्यवस्थाबमोजिम नै गोपनीयता कायम गर्नुपर्ने र सर्वसाधारणको व्यापक गुनासो आएकाले पनि आईपीओको नतिजा निजी सञ्चारमाध्यममा सार्वजनिक नगर्ने निर्णय गरिएको बताए। ‘अब आईपीओ बाँडफाँडपछिको नतिजा सीडीएससी, सेयर निष्कासन तथा बिक्री प्रबन्धक र आईपीओ जारी गर्ने सम्बन्धित कम्पनीबाट मात्रै नतिजा सार्वजनिक हुनेछ’, उनले भने।

केबल डिम्याट खाता नम्बरबाट गोपनीयता भंग गर्ने सीडीएससीको तर्क भने जायज देखिँदैन। बजारका सेयर ब्रोकर, केही ठूला तथा बाठा लगानीकर्ताले मर्चेन्ट बैंक (क्यापिटल) का कर्मचारीलाई पैसाको प्रलोभनमा पारी कम्पनीका सेयरधनीको सम्पूर्ण विवरण नै प्राप्त गरिरहेको स्रोत दाबी गर्छ। क्यापिटलका कर्मचारीलाई हाता लिँदै पहुँच र पैसाको पावरले कुन कम्पनीमा क–कसको कति कित्ता सेयर छ भन्नेजस्ता सबै विवरण चुहावट भइरहेकातर्फ भने सीडीएससी मूकदर्शक छ। 

स्रोतका अनुसार केही पहुँचवाला व्यक्तिहरुले सीडीएससीकै अधिकारी र क्यापिटलका कर्मचारीसँगको मिलेमतोमा बजारमा म्यानुपुलेसनसमेत भइरहेको छ। क्यापिटलबाटै नेप्सेमा सूचीकृत कम्पनीका सेयरधनीहरुको तीनपुस्ते विवरणसमेत चुहावट हुँदा भने सीडीएससी बेखबर भएको स्रोतको दाबी छ।

पछिल्लो समय सीडीएससीको वेबसाइटमा व्यापक गुनासो आइरहेको छ। बढ्दो लगानीकर्ताको संख्या र प्राथमिक तथा दोस्रो बजारका लगानीकर्ताले सीडीएससीको ‘मेरो सेयर’ प्रयोग गर्दा बारम्बार समस्या आइरहेको छ। सीडीएससीसँग मौज्दात सर्भरको क्षमता निकै कम भएकाले आईपीओ निष्कासनसमेत हिजोआज शुक्रबारमात्रै हुने गरेको छ। यसरी १६ लाखभन्दा बढी लगानीकर्ताले सीडीएससीको मेरो सेयरबाट आईपीओको नतिजा हेर्दा झन् विकराल समस्या देखा पर्ने निश्चित छ।

कमजोर क्षमताकै कारण दैनिकजसो सीडीएससीको सर्भर डाउन भइरहनु कुनै नौलो कुरै होइन। निजी क्षेत्रका अनलाइन सञ्चारमाध्यमले पनि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकबाट प्राप्त आईपीओको नतिजा प्रकाशित गर्दा सीडीएससीको भार कम परेको थियो।